लोकसेवाको परिक्षामा उत्तर लेख्दा ध्यान दिनुपर्ने कुराहरु
पूर्वतयारी र एकाग्रता
- एकाग्रता अभ्यासबाट मात्र हासिल हुन्छ; गहिरो इच्छाशक्ति, दरिलो लगाव र अथक निरन्तरता चाहिन्छ।
- नियमित रूपमा निरन्तर अध्ययन गर्ने बानी बसाल्ने।
- लेख्दै-पढ्दै गर्ने: पढेपछि किताब बन्द गरी सोच्ने र आफ्नै शैलीमा लेख्ने।
- प्रत्येक दिन बिहान उठेलगत्तै १५ मिनेट ध्यान गर्ने।
- पूर्वलेखन अभ्यास र एउटा निश्चित खाकाभित्र रही उत्तर लेख्ने पर्याप्त अभ्यास गर्ने।
- उत्तर जानेर पनि राम्ररी लेख्न नसक्दा प्रतिस्पर्धामा असफल हुन्छन्।
प्रश्न विश्लेषण
- उत्तर सुरु गर्नुअघि प्रश्नलाई ध्यान दिएर पढ्ने।
- प्रश्नका खण्ड पहिचान गरी की-वर्डहरू अन्डरलाइन गर्ने।
- की-वर्डका आधारमा प्रत्येक खण्डको शीर्षक राखी प्रश्नले मागेको विषय मात्र सरल र संक्षिप्त रूपमा सोझै लेख्ने।
- सम्भव भएसम्म बुँदागत रूपमा प्रस्तुत गर्ने।
- प्रश्नले मागेकोभन्दा बाहिर नजाने; जानेका र मनमा आएका कुरा प्रसंग नमिलाई नलेख्ने।
उत्तरको संरचना: तीन प्रमुख खण्ड
सुरुवाती खण्ड
विषय प्रवेश वा पृष्ठभूमि। यो उत्तरमा के लेख्दैछु भन्ने कुरा स्पष्ट गर्ने; प्रश्नले सोधेको विषयमा आफ्नो सम्पूर्ण धारणा के हो भन्ने राख्ने।मूल खण्ड
धारणालाई तर्क, तथ्य र उदाहरणसहित व्याख्या, विवेचना वा विश्लेषण गर्ने। सम्भव भएसम्म मौलिक, वस्तुगत, तटस्थ र आलोचनात्मक हुने।निष्कर्ष खण्ड
माथिको सम्पूर्ण उत्तर र प्रश्नको सन्दर्भमा मेरो धारणा के हो भन्ने कुराको सार वा भाव खिच्ने। ५ अंकका प्रश्नमा निष्कर्ष लेखिरहनु पर्दैन।सामग्री: तथ्य र उदाहरण
- तथ्यांक र उदाहरणले तर्कलाई दरिलो बनाउँछ; अति धेरै वा अनावश्यक भए उत्तर भद्दा र झिँजो लाग्ने हुन्छ।
- सबै उत्तरमा सबै विषयको उदाहरण दिइरहनु पर्दैन; महत्त्वपूर्ण एक वा दुई विषयको मात्र, सान्दर्भिक र उपयुक्त।
- क्वान्टिटेटिभ प्रश्न: तथ्यांकको प्रस्तुति, तुलना र विश्लेषण।
- क्वालिटेटिभ प्रश्न: बुझाइ, स्थापित सिद्धान्त, मान्यता र राष्ट्रिय/अन्तर्राष्ट्रिय अभ्यासका आधारमा व्याख्या र विश्लेषण।
- मिश्रित प्रश्नमा तथ्य र तर्कको समिश्रण गर्ने; सिफारिस वा निष्कर्ष मौलिक र विषयगत हुने। अत्यधिक तथ्यांक वा पूर्ण रूपमा तथ्यविहीन मनोगत उत्तर दुवै राम्रा होइनन्।
प्रस्तुति र क्रमबद्धता
- प्रस्तुति भनेको भाषाशैली, शब्द र वाक्य चयन, वाक्य र अनुच्छेद गठन, सरलता, मिठास, स्पष्टता, शुद्धाशुद्धि, उदाहरण, तथ्यांक, तर्क र विश्लेषणको समष्टि हो।
- उत्तरको ढाँचा, पेपर मार्जिन, अक्षर, शब्द, लाइन र अनुच्छेदबीचको स्पेसिङ पनि मिलाउने।
- प्रत्येक खण्ड, अनुच्छेद र वाक्य सिलसिलेवार र क्रमबद्ध हुने; एउटा अनुच्छेदमा एउटै विषयवस्तु।
- नयाँ अनुच्छेदको पहिलो वाक्य अघिल्लो अनुच्छेदको भावमा टेकेर सुरु गर्ने; "तथापि, यद्यपि, तर पनि" जस्ता योजक प्रयोग गर्ने।
- हरेक वाक्य, अनुच्छेद र खण्ड अन्तरसम्बन्धित हुँदाहुँदै स्वतन्त्र र आफैँमा पूर्ण हुने।
बुँदा कि अनुच्छेद? र बुँदा कति?
- पूरै बुँदामा मात्र वा पूरै अनुच्छेदमा मात्र लेख्नु दुवै राम्रो होइन; अनुच्छेद र बुँदाको समिश्रण गर्नु राम्रो हुन्छ।
- विषय प्रवेश, दुई खण्ड जोड्ने अंश र निष्कर्ष अनुच्छेदमा; प्रश्नले मागेको विषयजति बुँदागत रूपमा।
- धेरै बुँदा लेख्दा कुरा दोहोरिन्छन्, थोरै लेख्दा आवश्यक कुरा छुट्छन्। एउटा बुँदाको अंकभार ०.५ मान्दा ५ अंकको उत्तर १० बुँदामा लेख्न सकिन्छ, तर यो कुनै नियम होइन।


