Thursday, December 20, 2018

टुटा एब्सोलुटा र यसको नियन्त्रण - Tuta absulata infestation in Tomato and its control

गोलभेँडा एउटा नगदे बाली हो । गोलभेँडामा सिजन अनुसार बिभिन्न खाले रोग र किराहरूले दुख दिने गर्दछन् । हालै एउटा नया र अत्यन्त घातक कीरा Tuta absoluta, टुटा एब्सोलुटा, नामक कीरा नेपाल भित्रिएको र काठमान्डु क्षेत्र वरिपरि फैलिएको छ । यो कीराको उत्पत्ति दक्षिण अमेरिकामा भएको हो (आलु गोलभेँडा जस्ता बाली पनि उतै उत्पत्ति भएका हुन) । यो कीराले गोलभेँडा लगायत आलु, भण्टा जस्ता बालीलाइ आक्रमण गर्न सक्दछ । टुटा एब्सोलुटा लाइ आलु वा गोलभेँडा को पात खनुवा Leaf miner भनेर चिनिन्छ । टुटा एब्सोलुटा तथा आलुको दानामा लाग्ने कीरा, Phthorimaea operculella, र संचित अनाजमा लाग्ने पुतला किरा Sitotroga cerealella कीराको पुतलि समुह order Lepidoptera को एउटै परिवार Gelechidae का सदस्यहरू हुन ।
गोलभेँडा को पातमा अन्य कीराले पनि किरिमिरि परेको सुरूङ बनाउदछन् र तिनिहरूलाइ पनि पात खनुवा (Leaf miner) भनिन्छ । अन्य पात खनुवा कीरा र टुटा एब्सोलुटा को नोक्सानीको प्रकृति फरक हुन्छ । टुटा एब्सोलुटा पात खनुवा कीराले बालीको पातको भित्र पसेर पातको हरियो पदार्थ खाँदै गर्दा पातमा सेता धर्साको सट्टा सेता धब्बाहरू देखिन्छन् | यस्ता धब्बा भित्रको भागमा कीराको लार्भा भेटिन्छन् ।
हाम्रो जस्तो कमजोर क्वारेन्टिन कार्यक्रम भएको देशमा यो कीरा छोटो समयमा नै देश भरि फैलने छ । तसर्थ, यसको आइपीएम् प्रविधि मार्फत ब्यवस्थापनकालागी अनुसन्धान र प्रसार कार्य अपनाउनु पर्दछ ।
कीराको जिवन चक्र
———————-
टुटा एब्सोलुटा ले पातको तल्लो सतहमा वा बढदै गरेका मुना, डाँठ तथा कलिला फलका भेटनामा सानो, लाम्चो, धमिलो सेतो रंगको फुल पार्दछ । फुलबाट निस्किएको लार्भाको टाउको कालो र शरीर सुरूमा सेतो भए पनि पछि हल्का हरियो वा गुलाबी रंगमा फेरिने गर्दछ । पुर्ण विकशित लार्भा पातबाट जमीनमा झर्दछ र प्युपामा परिणत हुन्छ जसबाट पछि माउ पुतला निस्कन्छ । माउ पुत्ला निकै सानो, करिब ७ मिलिमिटरको, खैरो वा ध्वाँसे रंगको हुन्छ |
source: slideshare.com
यो कीरा कसरी फैलन्छ?
—————————-
टुटा एब्सोलुटा सानो, तर पखेटा भएको पुत्ला कीरा हो । तसर्थ, ओल्लो पल्लो खेतबारीमा आफै पनि फैलन्छ । तर एउटा देश बाट अर्को देश, एउटा क्षेत्र बाट अर्को क्षेत्रमा भने मानविय गतिविधीका कारण फैलन्छ । खास गरेर टुटा एब्सोलुटा ले फुल पारेका वा त्यसका लार्भा, प्युपा संक्रमित गोलभेँडा का बेर्ना वा फलको ओसार पसार गर्दा यो कीरा लामो दुरी फैलन्छ । यस्तै संक्रमित गोलभेँडा आयात गर्दा यो कीरा भारतबाट नेपाल प्रवेश गरेको हो ।
नियन्त्रण विधी
——————
कुनै विनाशी जीव नपुगेको क्षेत्रमा त्यस्ता विनाशी प्रवेशमा रोक लगाउने उद्देश्यका साथ क्वारेन्टीन कार्यक्रम संचालन गरिन्छ । देश भित्र टुटा एब्सोलुटा किरा प्रवेश गरि सकेको काठमान्डु उपत्यका तथा आसपासका क्षेत्रमा फैलिइ सकेको सन्दर्भमा यसलाइ फैलन नदिन आन्तरिक क्वारेन्टीन कार्य प्रभावकारी रूपमा संचालन गरिनु पर्दछ । खास गरेर, कीरा फैलिइ सकेको काठमान्डु उपत्यका र आसपासका क्षेत्रबाट बेर्ना तथा गोलभेँडा अन्य क्षेत्रमा लैजानु हुदैन । तर सर्वसाधारणमा यो कीराको बारेमा जाकारीको अभावमा कीरा संक्रमित बेर्ना र फलको ओसार पसार सरल छैन । अहिलेको हाम्रो कार्य क्षमता र कार्य पद्दती हेर्ने हो भने आन्तरिक वा वाह्य क्वारेन्टीन खासै आसलाग्दो छैन । धेरै वर्ष अगाडी काठमानडुमा मा देखा परेको काउली बन्दाको जरामा गाँठा बनाउने रोग आन्तरिक क्वारेन्टीनको अभावमा देशभरि फैलिएको थियो ।
रसायनिक विषादी टुटा एब्सोलुटा लाइ विभिन्न संपर्क कीटनाशक विषादी, खास गरेर पाइरेथ्व्राइड समुहका विषको प्रयोग गरि नियन्त्रण गर्ने प्रयास गरिएको पाइन्छ । यस्ता विषादीको निरन्तर प्रयोग गर्दा एकातिर बालीमा रहेका लाभदायक कीराहरू पनि मर्ने र अर्को तिर टुटा एब्सोलुटा ले त्यस्ता विषादी पचाउने क्षमता विकाश गर्ने संभाना बढ्दछ । तसर्थ विषादी प्रयोग होशियारी पुर्वक गरिनु पर्दछ ।
मोहनीपासो अर्थात फेरोमोन ट्र्याप मा प्राय कीराका भाले लाइ आकर्षित गर्न पोथी कीराले त्पादन गर्ने रसायनलाइ ब्यवशायिक रूपमा उत्पादन गरि भाले कीरालाइ लठ्याउन प्रयोग गरिने उपाय हो । यस्ता पासोको उपयोग बाट क) कुनै क्षेत्रमा यस्ता विनाशी जिव स्थापित भए नभएको पत्ता लगाउन (Pest Detection) ख) विनाशी जिव स्थापित भैसकेको स्थानमा ऋतु परिवर्तन सँगै किराहरुको संख्यात्मक उतार चढाव अध्ययन गर्न (Pest population monitoring), ग) विनाशी कीरा नियन्त्रण (Pest control) र घ) विनाशी उन्मूलन (Pest Eradication) गर्न प्रयोग गर्न सकिन्छ । कीराको गतिविधि बढे घटेको अनुगमन गर्नुका साथै कीरा नियनत्रण समेत गर्न सकिन्छ । हाम्रो सन्दर्भमा यस्ता मोहनि पासोको मुल्यलाइ ध्यानमा राख्दा यसलाइ कीराको उपस्थिति पत्ता लगाउन र तिनीहरूको संख्यात्मक उतार चढावको अध्ययन गर्न प्रयोग गर्न सकिन्छ ।
जैविक नियन्त्रण प्रकृतिमा हरेक जिवका शत्रु तथा मित्रहरू पाइन्छन् । बाली बिरूवामा लाग्ने विनाशी जिवका पनि प्राकृतिक शत्रुहरू हुन्छन् । यस्ता शत्रुहरूलाइ रोग ब्याधि उत्पन्न गराउने सुक्ष्म जिव (Pathogen) , शिकारी जिव (Predator) र परजिवि जिव (Parasitoid) गरि तीन कोटीमा बाडन सकिन्छ । यस्ता प्राकृतिक शत्रुहरूको प्रयोग गर्दै गरिने विनाशी नियन्त्रण पद्दतीलाइ जैविक नियन्त्रण भनिन्छ । यो विधि अर्गानिक कृषिमा समेत स्विकृत छ ।
सामान्यतया यस्ता अवान्छित आगन्तुक (invasive) कीरा नियन्त्रणकालागि तिनिहरूको उद्गम स्थलबाट तिनिहरूलाइ आक्रमण गर्ने प्राकृतिक शत्रुहरूलाइ भित्र्याउने गरिन्छ । यस्ता विनाशी कीराका शत्रुहरूलाइ हाम्रा मित्र कीराको रूपमा चिनिन्छ । तर टुटा एब्सोलुटा को नियन्त्रणका लागी भने यस्तो यस्ता मित्र कीरा भित्र्याइएको पाइदैन, बरू रैथाने प्राकृतिक शत्रुहरूको खोजमेल गरेको पाइएको छ । नेपालमा पनि कीराको जैविक विविधता प्रशस्त मात्रामा रहेकोले हाम्रा रैथाने कीराहरूले नै यसलाइ आक्रमण गर्न सक्दछन् । तसर्थ, कुन कीराले कति मात्रामा यसलाइ नियनत्रण गर्न सघाउँछ भन्ने अनुसन्धानलाइ प्राथमिकमताका साथ अगि बढाउनु पर्दछ ।
जैविक विषादी (Bio-pesticide):
———————————–
कीरामा रोग ब्याधि उत्पन्न गराउने उद्देश्यले प्रयोग गरिने शुक्ष्म जिवयुक्त उत्पादनलाइ जैविक विषादी भनिन्छ । टुटा एब्सोलुटा पुतली समुहको कीरा हो । पुतली समुहका कीराका लार्भालाइ बी टी (अर्थात बेसिलस थुरिन्जिएन्सिस) को प्रयोग बाट नियन्त्रण गर्न सकिन्छ । त्यस्तै कीरामा रोग उत्पन्न गराउने मेटारिजियम, बोभेरिया जस्ता ढुसीहरू बाट बनाएको जैविक विषादीबाट पनि यसको नियन्त्रणमा सहयोग पुगेको बताइन्छ । यस्ता जैविक विषादी कीराका प्राकृतिक शत्रु किरालाइ बढि सुरक्षित मानिन्छ ।
शिकारी कीरा (Predator)
प्रकृतिमा पाइने केही मांशाहारी कीराहरूले उनीहरूको जिवनयापनका लागी विभिन्न खाले कीराहरूको शिकार गर्दछन् । सुन्टिकी (Lady bird beetle), क्राइसोपा, मांसाहारी पतेरा लगायत धेरै प्रकारका कीराहरूले अन्य साना कीराको शिकार गर्दछन् ।
टुटा एब्सोलुटा कीरा नियन्त्रणमा अन्य देशहरूमा कीराको मिरिडी परिवार (Family Miridae) अन्तर्गत पर्ने Macrolophus, Nesidiocoris, Cyrtopeltis जस्ता जातीका कीराहरू प्रयोग गरिएको पाइएको छ । यी कीराहरूले कीराको साथसाथै बाली विरूवाबाट पनि रस चुस्दछन् । कहिलेकाही यिनीहरूको संख्या यति धेरै भै दिन्छ, तिनीहरुले नै बालीलाइ नोक्सान पुर्याउन सक्दछन् । विदेशमा गरिएको एउटा अध्ययनमा यस्ता शिकारी कीराले गोलभेँडा को सेते किरा (Whitefly) नियन्त्रणमा महत्वपुर्ण भूमिका खेल्यो, तर सेते कीराको अभावमा गोलभेडालाइ नै नोक्सानी षुर्यायो ।
केही बर्ष अघि पोखरा आसपास क्षेत्रका किसानको प्लास्टिक घरमा गरिने गोलभेडा उत्पादनको अनुगमन गर्ने सिलसिलामा यसै समुहको पतेरो कीरा भेटिएको थियो । सो पतेरोको आक्रमण पछि गोलभेडाको कलिलो डाँठमा एक प्रकारको खैरो घेरा देखा पर्दछ त्यसमाथीको मुन्टाको बृध्दि सुस्ताउद्छ । घेरा परेको ठाउँमा डाँठ कमजोर हुन्छ र सजिलै भाँचिन्छ । सो पतेरो कीराले टुटा एब्सोलुटा को फुल र लार्भालाइ आक्रमण गर्छ की गर्दैन, अध्ययन गर्नु जरूरी छ ।
परजिवि कीरा (Parasitoid)
——————————-
टुटा एब्सोलुटा लाइ यसको फुल, लार्भा तथा प्युपा अवस्थामा आक्रमण गर्ने विभिन्न परजिवि कीराले आक्रमण गरेको पाइएको छ । तिनिहरुमा सबै भन्दा महत्वपुर्ण भूमिका फुलका परजिवि कीराको रहेको छ । पुतलीका फुलमा आक्रमण गर्ने कीरामा ट्रीकोग्रामा जातीका कीरा सबै भन्दा महत्वपुर्ण मानिन्छन् । टुटा एब्सोलुटा को फुललाइ पनि ट्रिकोग्रामाका बिभिन्न प्रजातीले आक्रमण गर्न सक्दछन्, तर ट्रिकोग्रामा एकेइय (Trichogramma achaea) ले अन्य जाती भन्दा बढी प्रभावकारी भएको बताइन्छ ।
हामीले मध्य पहाडी क्षेत्र, स्याँग्जा, तनहु र कास्कीका विभिन्न भागमा गोलभेँडा को पातको गबारो किराको शत्रुहरूको सर्भे गर्दा सो गबारोको फुललाइ ट्रिकोग्रामा ले आक्रमण गरेको पाएका थियौं । सो ट्रिकोग्रामा को जाती पहिचान गराउदा ट्रिकोग्रामा एकेइय प्रजाती भएको बताइएको थियो । तसर्थ, स्वदेशमा नै पाइने यो ट्रिकोग्रामा किरालाइ टुटा एब्सोलुटा को बिरूध्द उपयोग गर्न थप अनुसन्धान गर्नु पर्दछ ।
Source: online