मलाई दिक्क लाग्दैन भन्नु,
समुन्द्रले सुक्खा छु भन्नु जस्तै लाग्छ,
हावा चल्दैन भन्नु आकाशले,
चन्द्रमाले रात अध्यारो छैन भन्नु जस्तै लाग्छ।
म दिक्क हरुकै भिडमा दिक्कीएको छु,
जहाँ हरेक अनुहारका मुस्कानभित्र लुकेका छन् हजारौं प्रश्न,
जहाँ हरेक चुप्पीमा छन् असंख्य अनुत्तरित उत्तरहरू।
बिहान एउटा दिक्कसँग ठोकिन्छु,
जुन ओछ्यानबाट उठ्नासाथ मलाई नियाल्छ,
अनि सानो सुस्केरा बनेर मनको कुनामा अडिन्छ।
दिउँसो अर्को दिक्कसँग ठोकिन्छु,
जुन भीडमा रमाइलो गरिरहेझैं देखिन्छ,
तर भित्रभित्रै आफैसँग रिसाइरहेको हुन्छ।
कतै चोईटिन्छु, दिक्किएर,
कतै चोईटिन्छु ठोक्किएर,
कतै आफैंसँग हारेको छु,
कतै आफैंसँग जितेको नाटक गरिरहेको छु।
म अरूको खुसीमै ठिक्क छु,
तर त्यो खुसी उधारो जस्तै लाग्छ,
जो फिर्ता पाइने आशामा दिन्छु,
तर कहिल्यै फिर्ता आउँदैन।
अरूलाई खुशी पार्न नसकेर दिक्क छु,
तर अरूले मलाई खुशी पार्न सकेनन् भन्ने गुनासो छैन।
किनभने खुसीको मापन गर्न सिकेको छैन मैले,
खुसीमा पनि दिक्क देख्न थालेको छु मैले।
तर दिक्क पनि आफैं खुसी छ,
किनभने उसले आफ्नो काम गरिरहेको छ,
मलाई अझ गहिराइमा पु¥याइरहेको छ,
अनि म उसैको अस्तित्वमा हराइरहेको छु।
खुसीले सिकाएको थियो—
आफू खुसी भए अरूलाई खुशी पार्न सकिन्छ,
तर दिक्कले सिकायो—
अरूलाई खुशी पार्न खोज्दा आफू दिक्क हुनु पनि सम्भाव्यता हो।
त्यसैले, म दिक्क छु,
यसै दिक्कीएको छु,
र यो दिक्कबाट भाग्न सक्दिन।
किनभने,
दिक्क मात्र एउटा समस्या होइन,
यो त मेरो आफ्नै छायाँ हो,
जो मसँगै हिँड्छ,
र मबाटै जन्मिन्छ।
No comments:
Post a Comment