Tuesday, December 20, 2022

कविता : त्रासद बर्षा र विकास


 बगेर जाउ या बहेर,

सम्झाएरै जाउ या कहेर,

तिम्रो आगमनले धर्ती रसिलो हुन्छ,

तिमी भित्रै भिज या सतहमै रहेर!


तिमी एक सत्य हौ,

काकाकुलको लागि आधिपत्य हौ!

खडेरीले तिमीलाई खोज्छ,

हरित बन्न बृक्षले तिमीलाई नै रोज्छ!

तिमी आउछौ, गड्याङगुडुङ गरि रौद्र रुपमा,

आह्लादित बनाउछौ, गर्मी अनि धुपमा!


उडिरहेको धुलो बस्छ,

पातपातको फोहोर खस्छ,

मलिनता भित्र पस्छ!

शालिनता प्रवेश गर्छ!

दुनियाको मैलो पखालिन्छ,

धर्ती मातामा परेका चिरा जति,

पालैपालो टालिन्छ!


तिमी व्यन्जना हौ, तृष्णाको

भनिन्छ उपहार हौ कृष्णको,

तर कहिले काहीँ धर्तिलाई छक्याउछौ,

आफ्नो धर्म सम्झेरै हो कि बिर्सेर,

कि त मनुष्यको कायापलट देखि तर्सेर,

धर्ती उछिट्याउछौ, अनि बाढी बनेर बगाउछौ!


हुन त अविरल पर्नु,

सुरु भए पछि सफा नगरी नरोकिनु,

पृथ्वीका प्रत्येक तृष्णाहरुको तृखा मेट्नु,

अनि रुखको लहरा पहरा देखि जरा भेट्नु

तिम्रो पनि त चाहना हुन सक्छ!

बेला मौका प्रेमिल बन्ने बाहना हुन सक्छ,


नपाउदा, ती जडित लहरा र जरा सङ्ग झुम्मिन,

छिरेको हुन सक्छौ, उजाड चिराहरुमा,

पृथ्विको अरिकल धमनी र शिराहरुमा,

प्रेमी नभेटिदाको पिडामा,

विवश भैदिएको हुन सक्छौ,

निरश भै दिएको हुन सक्छौ,

राक्षस पनि बन्न सक्छौ,

र तिमी हामी मनुष्य लाई देखाएरै भन्न सक्छौ!

कि मनुश्यका निर्माणहरुले,

विकास रुपी विकरालहरुले,

चाहना र श्रोत बिचका अन्तरालहरुले,

तिमी जस्ता अनुपम प्राकृतिक क्रियाहरुलाई,

प्रतिकृया दिन बाध्य पारिरहेको 

हुन सक्छ,

 तिमीले सितको सट्टामा

 आँसु झारीरहेको पनि हुन सक्छ!


पोल्छ कसैको आसुले भएङ्कर पोल्छ,

हो तिम्रो आसुले पनि हुन सक्छ,

बर्सेनि हाम्रा झुपडीहरु,

आधा आधी डुबानमा हुन्छन,

हाम्रा लालाबालाहरु, तिम्रो नाम सुनेरै रुन्छन!

तिमी आउदा रम्ने, मानिस पनि!

न आओस त्यो त्रासद मौसम भन्छ,

औला भाची भाची दिन गनि गनी!

आहालमा बस्न रमाउने चौपायाहरु,

पोहोरसाल लगातार एक हप्ता बेहालमा बस्नु परेर,

आहाल सम्झिदैनन!

अनि, अब त लाग्छ एस्तै डुबान अनि बाढी आईरहे,

पानीका माछा पनि पानी सम्झिदैनन!


यो सब कसरी किन र के भैरहेको छ?

मनुष्य एकपटक सोच्नु जरुरी छ!

दिनानुदिन प्रकृतिलाई घोच्ने हामीले,

एक्पटक हैन पटक पटक आफैलाई घोच्नु जरुरी छ!

पाखाहरुमा कुरुपता माथी शृङ्गार लेपन गरे जस्तै विकास गरेर के गर्ने?

प्रकृती तिरै फर्केर घोचौ आफैलाई,

फल अनि फुलका वृक्ष भाची

 फुलबुट्टा भरेर के गर्ने?

अक्सिजनलाई हिलाम्य पारेर तेर्स्याई,

अक्सिजनका सिलिन्डरमा बन्चराहरु बर्साई,

पृथ्वीका प्रत्येक प्राकृत सिलिन्डरहरु रितिदै छन,

सबै किसिमका श्रोतहरु सिदिदै छन,

प्रकृति उष्णताले मलिन छ

हामी कार्वन उत्सर्जनमा तल्लिन छौँ ,


सोचौं !

ठाउँ ठाउमा विनासकारी विकास ल्याएर के हुन्छ?

प्राकृतिक सम्रचना ध्वस्त पारेर!

अनि सम्वृद्दी ल्याउन बिश्वस्त पारेर,

भोलि घर खेत अनि बस्ती सारेर,

हिड्नुपर्छ!भने माया मारेर।


त्यसै भएर मनुष्य हो!

बिवेकशिल भएर बिबेक नबेची,

प्राकृतिक कृयाहरुलाई सक्दो नबिगारी

गरौ विकास!

सबैको अस्तित्वलाई स्विकारी!

त्यो बर्सातलाई रोकौ धर्ती बगाउनबाट,

फूललाई कसैले नरोकी मगमगाउनबाट!!


कविता शिर्षक : पाठ

 बिष्लेषण गर्न छोड्नु पर्छ,

स साना टुक्राहरुलाई, स साना मनहरुलाई,

र अनुभव गर्नु पर्छ जोडिएको वातावरण अनि जनजिबनलाई!

आफुलाई सुधार्न अझै बाकी छ,

मैले हेर्नू छ,चुपचाप भएर,

अनि लेख्नु छ, साना साना ठाउँ मा भएका दमनहरुलाई!


'म' भौतिक लडाई लड्न कति तत्पर बनु?

र कति सङ्ग बेसरम भएर रिपु बनु,

कतिलाई सकिएका, सकाईएका र सकिन लागेका ठानु,

हो, सकाउन त 'म'लाई पनि सकाउछन खोज्लान, दुनिया सकाउने ले,

अब निशब्द भै आफै जानूँ, आफैले आफैलाई शान्त ठानुँ!

र अरुले कसैलाई बनाउन र सकाउन सक्दैनन भन्ने जानूँ!


दैबले ठगेका निर्धनहरुलाई,

आत्मा सकिएका बेघरहरुलाई,

बालुवा बिनाका अनि छाल बिनाका बगरहरुलाई,

तन्किनै नसकिएका अनि तन्काउदा टुटेका रबरहरुलाई!

एकै मालामा उनेर पढ्न सक्नु छ,

उनीहरुको मनमा गड्न सक्नु छ!

साना साना कृयाकलापहरुमा,

कहि बिछोड अनि आलापहरुमा,

कतै का पुण्य अनि जानी नजानी भएका पापहरुमा,

कसैले लगाई दिएका नजर, अनि लागेका श्रापहरुमा

दबोचिएर दबिएको जीवन पढ्नु छ,

हो, त्यसैमा गडेरै त अघि बढ्नु छ।


'म' त्यतिमै कहाँ सकिउला र?

बिचबाटोमै कहाँ बहकिउला र?

चहकिलो रापले जिन्दगीको चिसो हटाउनु छ,

आफैले आफ्नै खुसीको लागि आफैलाई खटाउनु छ।अनि 

आफैले मह काढेर, आफैलाई हात चटाउनु छ।

यात्रा एसरी सुरु भएर पनि त खुसी हुन सकिन्छ,

चकमन्न मै त मैनबत्ती पनि आफै पग्लेर चहकिन्छ!