Tuesday, December 20, 2022

कविता शिर्षक : पाठ

 बिष्लेषण गर्न छोड्नु पर्छ,

स साना टुक्राहरुलाई, स साना मनहरुलाई,

र अनुभव गर्नु पर्छ जोडिएको वातावरण अनि जनजिबनलाई!

आफुलाई सुधार्न अझै बाकी छ,

मैले हेर्नू छ,चुपचाप भएर,

अनि लेख्नु छ, साना साना ठाउँ मा भएका दमनहरुलाई!


'म' भौतिक लडाई लड्न कति तत्पर बनु?

र कति सङ्ग बेसरम भएर रिपु बनु,

कतिलाई सकिएका, सकाईएका र सकिन लागेका ठानु,

हो, सकाउन त 'म'लाई पनि सकाउछन खोज्लान, दुनिया सकाउने ले,

अब निशब्द भै आफै जानूँ, आफैले आफैलाई शान्त ठानुँ!

र अरुले कसैलाई बनाउन र सकाउन सक्दैनन भन्ने जानूँ!


दैबले ठगेका निर्धनहरुलाई,

आत्मा सकिएका बेघरहरुलाई,

बालुवा बिनाका अनि छाल बिनाका बगरहरुलाई,

तन्किनै नसकिएका अनि तन्काउदा टुटेका रबरहरुलाई!

एकै मालामा उनेर पढ्न सक्नु छ,

उनीहरुको मनमा गड्न सक्नु छ!

साना साना कृयाकलापहरुमा,

कहि बिछोड अनि आलापहरुमा,

कतै का पुण्य अनि जानी नजानी भएका पापहरुमा,

कसैले लगाई दिएका नजर, अनि लागेका श्रापहरुमा

दबोचिएर दबिएको जीवन पढ्नु छ,

हो, त्यसैमा गडेरै त अघि बढ्नु छ।


'म' त्यतिमै कहाँ सकिउला र?

बिचबाटोमै कहाँ बहकिउला र?

चहकिलो रापले जिन्दगीको चिसो हटाउनु छ,

आफैले आफ्नै खुसीको लागि आफैलाई खटाउनु छ।अनि 

आफैले मह काढेर, आफैलाई हात चटाउनु छ।

यात्रा एसरी सुरु भएर पनि त खुसी हुन सकिन्छ,

चकमन्न मै त मैनबत्ती पनि आफै पग्लेर चहकिन्छ!


No comments: