Tuesday, January 21, 2025

बहकिन्छ मन


 






बहकिएका दुईथोपा आशुहरु तप्प गाला मुसार्दै 

ओठ सम्म पुगेपछी लाग्यो,

बिछोड नुनिलो हुदोरहेछ!

उनको नुनिलो याद अझै बाकी रहेछ 

दुई खोपिल्टा भित्र!

उनले छोडेको मुटु भित्रको एउटा कोठा रित्तिएर

बोसो जमेको छ,

पिडामा जमेको बोसोले पीडा दिन्छ,

पीडा दिदा लाग्छ,

उनको नमिठो पदचाप मुटुमा गडिएको रहेछ!

उनी हुनुको आभासले मेरो जिउ जिङ्रीग हुन्छ,

गुजबमका स-साना टाकुराहरुले

जिउ सिउडी बनिरहदा,

र एकतमासले टाउको भित्रको गिदिले उनलाई

बिदाई गर भनेर आदेश दिएको छ,

तर म बिदाईको तोपमा गोलाहरु भरेर

मेसिन गन बर्साउन कसरी सकुला र खै?

नसकी नसकी पनि सक्नुपर्छ 

भन्छिन मेरी आमा,

मेरीआमाको मधुर वाणी र तार्किक वचन 

अनि निसर्त प्रेम अगाडी लहड र बचपन 

मेरो अगाडी हिरो बनेर पल्टिएको छ,

म निरीह चम्चा बनेर नाचीरहेको छु, 

के चम्चा मा अब आईनाईजेसन्को गुन्जायस छैनर?

ध्रुवीकरण को ध्रुबिकृत विश्वमा 

काईयोमा त धुलो टासिन्छ

म सङ्ग टासिने धुलो कोई भैदिए,

म सङ्गालेर नपखाली 

अङ्गालिदिने थिए!

एक सम्झनाले बनाएको खाडडललाई अर्कै मायाले टाल्न एक प्रयास हुन सक्थ्यो,

सार्थक हुनैपर्छ भन्ने त छैन,

किनकी यी गडिएका आँखा र

चाउरिएको अनुहारमा धोका र अविश्वासका धर्का बाहेक आशाका किरणहरुको मर्दन पर्न छोडेको छ,

सायद आशाले पनि बाटो मोडेको छ।

बाटो मोडेकी आशा

र अशान्त भएर हिडेकी शान्ती कतै भेटिईन भन्ने भन्नू,

तिम्रो नशालु यौवनको चन्चलता 

चाउरिन थालेको छ,

तिमीले छोडेका मलिला ओठहरु

पट्ट फुटेका छन, अहिले त बाक्लो झ्याङले टम्म छोपिएका छन,

केहीले गालामा दारी, काधमा जिम्मेवारी भनेर गिज्याउछन उसलाई, 

तर त्यो झारी पन्छ्याउने उत्प्रेरणाको अभाबमा

छट्पटिएको छ,

दारी भित्रै स-साना जनावरहरु पालिएका छन,

र खुसी छ, उसको कारण 

जैविक विविधता फस्टाएको छ!

र उ जैविक सेवक भएको छ।

आमाले चिटिक्क भएर बस भनेको सुन्दा

आमा वातावरण बिरोधी लाग्नुहुन्छ,

म मेरो अनुहारमा ग्रीन बेल्ट मुभमेन्ट चलाईरहेको छु,

छालामा घाम पर्न छोडेको छ, 

प्रेम एति जहरिलो पनि हुन्छ र?

खोलाका दुई किनारलाई सोध्न जादैछु,

कि तिनीहरु एकाकार कहिले हुन्छ्न??

सङ्गै बसेर कहिले रुन्छन,

मुस्कुराहटको आहटमा कहिले मात्तिन्छन,

एउटै छाना मुनि कैले बस्छन

एक अर्काको हात कहिले समात्छन?

अह!

कहिले पनि देखिदैनन ती सङ्गै,

तर ती खुसी छन!

म खुसी नभए पनि ती खुसी छन

मैले पनि हुनुपर्छ!

निर्जिब किनार अनि तिरलाई देखेर,

म खुसी हुनुपर्छ

मेरी आमाको पीरलाई देखेर,

म खुसी हुनुपर्छ,

मेरो जिबनरुपी जन्जिरलाई देखेर,

एउटा हाङ्गा काटिएको रुख,

अन्तिम जरा रहन्जेल पलाउने कोसिस गर्छ,

लागेका घाउहरु भलाउने कोसिस गर्छ

म मानिस भएर नसकुला र??